काठमाडौं । नेकपा सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा डा.युवराज खतिवडालाई निरन्तरता दिने उपायहरुको खोजी गरिरहेका छन् ।
६ महिनाअघि नै राष्ट्रियसभामा बाँकी रहेको मनोनित कोटामा खतिवडालाई सिफारिस गरेको बताएका प्रधानमन्त्री ओली पछिल्लो समय गलेको अनुभव भएको छ ।
खतिवडाका लागि मरिहत्ते गर्दागर्दै पनि पूर्वविकल्पमा ओली टिक्न नसकेपछि बिहीबारको सचिवालय वैठकमा आफैले बामदेवलाई सिफारिस गर्ने बताएर पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएसँगै अर्थमन्त्री खतिवडाको बहिर्गमन पक्का भएको भन्दै धेरै क्षेत्रहरुमा खुसियाली छाएको छ ।
तर, खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित सांसद रामनारायण बिडारीलाई राजीनामा गराउने र उनका ठाउँमा खतिवडालाई लैजाने योजना अघि सारेको नेकपा उच्च स्रोतको दावी छ ।
यद्यपी, बिडारी नेकपाका अर्काअध्यक्ष पुष्पकमल दाहालका नजिक मानिन्छन् र उनी राष्ट्रिय सभामा पुर्वमाओवादीबाट मनोनित भएका हुन् ।
‘बिडारीलाई विभिन्न प्रलोभन देखाएर राजीनामा गराउने र त्यो ठाउँमा खतिवडालाई छिराउने ओलीको नयाँ रणनीति छ,’ नेकपा उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा कायमै राख्न विडारीलाई ६ महिनाका लागि संघीय सरकारको मन्त्री बनाउनेगरी राष्ट्रिय सभाबाट राजीनामा दिन लगाउने तयारी भएको छ ।’
संघीय सरकारको मन्त्री बनाएमा बिडारी पनि राष्ट्रिय सभाको बाँकी कार्यकाल छोड्न तयार देखिएको स्रोतले दावी गरेको छ । बिडारी हाल राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति छन् ।
प्रधानमन्त्रीको आश्वासनमा परेर बिडारीले राजीनामा दिए खतिवडा पुनः राष्ट्रिय सभामा आउने र बाँकी कार्यकाल अर्थमन्त्री बन्ने बाटो खुल्नेछ । तर, यसका लागि केही समय भने लाग्ने छ । त्यसका लागि केही समय प्रधानमन्त्री आँफैले अर्थमन्त्री पद सम्हाल्नेछन् ।
नेकपा उच्च स्रोतकाअनुसार बिडारीले राजीनामा नदिएमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकार बनाउनेछन् । आफूले भनेको मान्ने व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर आफूमार्फत अर्थ मन्त्रालय हाक्न सक्नेछन् ।
विगतमा पार्टी महासचिव (हाल) विष्णु पौडेल अर्थमन्त्री बन्दा खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । त्यतिबेला खतिवडालाई छाँया अर्थमन्त्रीको रुपमा चर्चा गर्ने गरिन्थ्यो । अहिले प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकारका रुपमा पूर्वराजश्व सचिव लालशंकर घिमिरे छन् ।
नेकपा उच्च स्रोतकाअनुसार दोस्रो वा तेस्रो विकल्पमा प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिने सम्भावना छ ।
प्रदीप ज्ञवालीको पनि भित्री इच्छा एक पटक अर्थमन्त्री बन्न पाए हुन्थ्यो भन्ने छ । वर्तमान सरकारमा बसेर तुलनात्मक रुपमा राम्रो छवी बनाएको र ओलीको निकट भएर काम गरेका कारण ज्ञवालीलाई परराष्ट्रसहित वा रहित अर्थमन्त्रीको जिम्मेवारी आउन सक्छ ।
बजारमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पुनः अर्थमन्त्री बन्ने हल्ला चलाइए पनि प्रधानमन्त्री ओलीले कुनै हालतमा नदिने ओली निकट एक नेताको भनाई छ । त्यस्तै पार्टी उपाध्यक्ष गौतमलाई पनि प्रधानमन्त्री ओलीले कुनै हालतमा अर्थ मन्त्रालयको जिम्मेवारी नदिने बताइएको छ ।
उता, पार्टी महासचिव पौडेललाई अर्थमन्त्री बनाउन ओली सकारात्मक भएपनि महासचिव आफै यो कार्यकाल मन्त्री नबन्ने बरु पार्टीमा सक्रिय रहने आशय प्रधानमन्त्री ओलीसमक्ष व्यक्त गरेको स्रोतको भनाई छ ।
प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयको महत्व राम्रोसँग बुझेका कारण मुलुकको ढुकुटीको साँचो आफ्ना विश्वाशपात्र बाहेकलाई नदिने पक्षमा छन् ।