काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग/व्यवसायीलाई भेट्न बोलाएको आइतबार साँझको बैंठकमा हर्ताकर्ता थिए– निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अर्फ कमर्सबाट गएका प्रतिनिधिले राखेका हरेक माग तथा सुझावप्रति प्रधानमन्त्री भन्दा पनि निवर्तमान अर्थमन्त्री खतिवडाले नै जवाफ दिएका थिए ।
उद्योगीले कोरोना भाइरस महामारीबाट तहस नहस भएको अर्थतन्त्र जोगाउन र व्यवसाय बचाउन सरकारले उद्धारको प्याकेज ल्याउनुपर्ने बताएपछि निवर्तमान अर्थमन्त्री डा. खतिवडाले त्यसको प्रतिवाद गर्दै अर्थतन्त्र अहिलेसम्म खराब अवस्थामा नआएको बरु तपाईहरुलाई राहत चाहिने हो सरकार दिन तयार रहेको जानकारी दिए । राज्यले मागेको सबै सुविधा दिने छ, तर, बढी कर तिर्न तपाईहरु पनि तयार हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए ।
उद्योगीले राखेका हरेक विषयमाथि अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री ओलीले भन्दा निवर्तमान भइसकेका अर्थमन्त्रीको खतिवडाले जवाफ दिएका थिए । त्यसैमा प्रधानमन्त्री ओलीले पनि समर्थन जनाएका थिए ।
प्रधानमन्त्री ओलीले हालको मन्त्रिपरिषदबाट गुमाउन नचाहेका खतिवडालाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाएर राख्ने सम्भावना बढेको छ ।
‘हिजोको खतिवडाको प्रस्तुती हेर्दा पनि उनी प्रमुख आर्थिक सल्लाहकार भएर काम गर्ने पक्का पक्की भइरहेको देखिएको छ,’ प्रधामन्त्री ओलीले बोलाएको बैठकमा सहभागी एक उद्योगीले भने, ‘उहाँ सिंहदरबारबाट बालुवाटार मात्र सर्नु भएको हो । यसको अर्थ उहाँ थप शक्तिशाली हुनु भएको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राजस्व सचिव रामशरण पुडासैनीलगायतका बाहलवाला कर्मचारीलाई बोलाएका थिए ।
प्रधानमन्त्री ओलीले व्यवसायीसँग पनि खतिवडा बालुवाटारमै रहने सङ्केत गरे । ‘प्रधानमन्त्रीको सङ्केतबाट के कुरा बुझियो भने खतिवडा प्रधानमन्त्री ओलीको प्रमुख आर्थिक सल्लाहकार हुँदै हुनुहुन्छ,’ सहभागी ती अधिकारीले भने, ‘हिजोको उहाँको प्रस्तुती र त्यसमा प्रधानमन्त्रीको समर्थनले नै थप शक्तिशाली भएको महशुस भएको छ ।’
प्रधानमन्त्री ओलीले खतिवडालाई राष्ट्रिय सभामै ल्याएर अर्थ मन्त्रालयको जिम्मेवारी दिन चाहन्थे । तर, नेकपा सचिवालयले पाटी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनितको निर्णय गरेपछि प्रधानमन्त्रीले खतिवडालाई नै अर्थमा निरन्तरता दिन नसकेका हुन् ।
उनले खतिवडा ल्याउन नसकेपछि अर्थ आफैले सम्हाल्ने बताइसकेका छन् । बालुवाटारमा खतिवडालाई राख्ने र खतिवडाकै इराशामा अर्थ चलाउने देखिएको छ ।
अर्थका फाइलमा प्रधानमन्त्री ओलीको हस्ताक्षर हुन्छन भने, त्यसको सम्पूर्ण डिजाइन खतिवडाले गर्ने सम्भावना छ । ‘अर्थका फाइलमा मात्रै उहाँको हस्ताक्षर हुँदैन्,’ बालुवाटार स्रोतले भन्यो, ‘तर, हरेक फाइल खतिवडाको इशारामा बन्छ, त्यसमाथि प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुहुन्छ ।’
वामदेव गौतम अर्थमा आउने हल्ला चलेपछि त्रसित बनेका उद्योगी व्यवसायी प्रधानमन्त्री ओलीले नै अर्थ राख्ने भएपछि खुसी भएका छन् ।
कतिपय उद्योगीले वामदेवको तुलनामा डा. खतिवडा कयौं गुणा राम्रो भएको बताइरहेका छन् । उद्योगीकै आग्रहअनुसार पनि प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाउने सम्भावना छ ।