वर्ष २०२०: गरिबी थप्दै, अर्थतन्त्र धराशयी बनाउँदै सकियो, २०२१ मा पनि चुनौती

account_box अशोक शेरचन ,
प्रकाशित: २०७७ पुस १६, बिहीबार,०८:०८:AM  
वर्ष २०२०: गरिबी थप्दै, अर्थतन्त्र धराशयी बनाउँदै सकियो, २०२१ मा पनि चुनौती

वर्ष २०२० सोचेभन्दा कम क्षति पुर्याएर सकिँदै छ । कम क्षति यस अर्थमा कि महामारीमा जुन क्षतिको प्रक्षेपण गरिएको थियो त्यो कम देखियो । मानव जीवन र अर्थतन्त्र दुवै यसपालिको महामारीबाट लगभग जोगिएका छन् । तर, कतिपय जीवनहरू र व्यवसायहरू अल्पाआयुमै अस्ताए पनि । विकास, प्रविधि, अनुसन्धानमा विश्वमा जुन प्रकारको प्रतिस्पर्धामा छ, यो हिसाबले यो महामारीमा पुगेको क्षति पनि ठूलो हो । 

वर्ष २०२० लाई बिदाइ गर्दै र सन् २०२१ लाई स्वागत गर्दै गर्दा वर्ष २०२१ ले के लिएर आउला वा केही पो लिएर जाला भन्ने अनिश्चितताकाबीच विश्वले बाँच्नुपर्ने देखिएको छ । करिब १८ महिनाअघि जन्मिएको भाइरसको आयु र विश्वले बेहोर्नुपर्ने क्षतिको आँकलन अहिल्यै गर्न सकिँदैन । तर, यस विरुद्धको खोप उत्पादन हुन सुरु गरिसकेकाले नियन्त्रणमा छिट्टै आउने विश्वास लिन सकिन्छ ।

कोरोनाले खलबलाएको आम जीवन र अर्थतन्त्रले पहिलेकै तौरतरिकाबाट पुनरागमन गर्ला कि नयाँ स्वरूपमा अाउला भन्ने कौतुहलता आम मानिसमा छ । यसैले सन् २०२१ लाई अवसर र चुनौतीको संघारका रूपमा हेरिएको छ । अर्थात सन् २०२१ समस्याबाट सिर्जित समस्याहरूलाई समाधान गर्न सक्नेहरूका लागि अवसर र नसक्नेहरूका लागि चुनौती हुनेछ । 

वर्ष २०२० मा थपिएका नयाँ गरिबीको ग्राफ, सानादेखि ठूला व्यवसायमा पुर्याएको धक्का, स्वास्थ्य र शिक्षामा पहुँचको कमी, ठूलो जनसंख्या खाद्य संकटमा रहनुले यो वर्ष कुनै पनि प्रकार सन्तोषजनक देखिएन् । 

कोभिडले वर्ष २०२० मा सिर्जित समस्याहरूलाई यहाँ बुँदागत रूपमा व्याख्या गरिएको छ । 

थपिए नयाँ गरिब 

छिमेकी चीनबाट सुरु भएको कोरोनाको प्रभावले विश्वमा अति गरिबहरूको संख्या ह्वात्तै बढेको प्रक्षेपण गरिएको छ । यो संख्याले विश्वको अर्थतन्त्रलाई तीव्र गतिमा बढ्नबाट लगाम लगाउनेछ । करिब ८ देखि १५ करोड नयाँ मानिसहरू अति गरिबीमा धकेलिने छन् । जसको कमाई दैनिक २ डलरभन्दा कम हुन् । यिनमा सबैभन्दा बढी दक्षिण एसियाली मूलका हुनेछन् । छिमेकी भारतले यसको ठूलो मूल्य चुकाउन पर्ने देखिन्छ । जसको बाछिटा नेपालसम्म पक्कै आइपुग्नेछ । जनसंख्याको हिसाबले पनि भारत विश्वको दोस्रो ठूलो मुलुक हो ।

यहाँका १० प्रतिशतभन्दा बढी जनसंख्या महामारी अघिनै अति गरिब थिए । बंगलादेश, पाकिस्तान, अफगानिस्तानले पनि यो चुनौती खेप्नुपर्ने देखिन्छ । नेपालमा अहिले करिब १९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेकोमा कोरोना महामारीको कारणले यो संख्या ३० प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । यसरी थपिने नयाँ गरिबहरू लकडाउन र निषेधाज्ञाले बढी प्रभावित भएका अनौपचारिक सेवा क्षेत्रका, निर्माण र औद्योगिक मजदुरहरू हुनेछन् । नेपालको गरिबी घटाउने योजना र प्रयासलाई पनि महामारीले थप चुनौतीपूर्ण बनाइ दिएको छ ।

ओरालोतिर रेमिट्यान्स 

विप्रेषण अर्थात रेमिट्यान्सको आप्रवाहमा पनि विश्वमै कमी आउने प्रक्षेपण गरिएको छ । विप्रेषण विश्वका धेरै परिवारको जीविकाको माध्यम हो । सन् २०२१ मा विपे्रषण आप्रवाहमा १४ प्रतिशतले कमी आउने अनुमान गरिएको छ । हाम्रा दुई छिमेकी मुलुक भारत र चीन विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने पहिलो र दोस्रो मुलुकमा पर्छन् । यी राष्ट्रले अघिल्लो वर्ष क्रमशः करिब ८४ अर्ब र ६९ अर्ब डलर बराबर रेमिट्यान्स देशमा भित्राएका थिए । नेपालले पनि करिब ९ अर्ब डलर भित्राएर १९ औं स्थानमा परेको थियो ।

विश्वको गरिबी घटाउन यसको ठूलो भूमिका छ । नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशतको योगदान दिने यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने हो भने हामीले धेरै रकम प्राप्त गर्न सक्ने सम्भावना प्रशस्तै छ । विगत केही दशकदेखि नेपालको गरिबी घटाउनमा पनि रेमिट्यान्सको महत्वपूर्ण भूमिका छ । शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताबाटै बञ्चित हुनुपर्ने सम्मको अवस्था आइपरेपछि यसैमा आश्रित परिवार उन्नतिको अवसरबाट दशकौं पछाडि धकेलिने छन् । विश्वभरिनै दशकौंपछि पहिलो पटक बिदेसिनेभन्दा बिदेसिएकाहरू स्वदेश फर्केने क्रम बढेको पाइएको छ । प्रक्षेपण गरिए जस्तै रेमिट्यान्सको आप्रवाह घट्नु हाम्रो लागि निकै चुनौतीपूर्ण हुनेछ ।

सर्वाधिक असरमा पर्यटन

यसपालिको महामारीले सबैभन्दा बढी असर पारेको क्षेत्र पर्यटन पनि हो । सन् २०१९ मा विश्वमा १.५ अर्ब मान्छेहरूले विभिन्न प्रयोजनका लागि विश्वका विभिन्न ठाउँको भ्रमण गरेका थिए । सोही साल नेपालमा पनि करिब १२ लाख पर्यटकको आगमन भएको थियो । तर, सन् २०२० को १० औं महिनासम्म अघिल्लो सालको तुलनामा विश्वमा पर्यटकको संख्या ७२ प्रतिशतले घटेको छ भने नेपालमा करिब २० प्रतिशत अर्थात जम्मा २ लाख १९ हजार पर्यटक आएका छन् । जसका कारण विश्वले करिब ९ खर्ब ३५ अर्ब अमेरिकी डलर बराबरको आय गुमाएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको ८ प्रतिशत योगदान सन् २०१९ मा थियो । करिब १० लाख मानिसले यस क्षेत्रमा प्रत्यक्ष र परोक्षरूपमा रोजगारी पाएका थिए ।

यस क्षेत्रसँग जोडिएका सबै व्यवसायको अहिले दयनीय अवस्था छ । भर्खर देशका पुराना पाँचतारे होटलहरूले सेवा बन्दको घोषणा गरेका छन् । सधंै चहलपहल देखिने पर्यटकीय क्षेत्रहरू सुनसान छन् । दसकौं यही क्षेत्रमा बिताएका अनुभवी जनशक्तिहरूले विकल्पको बाटो खोज्नुपर्ने बाध्यता सिर्जना भएको छ । सयौं पूर्वाधारहरू सदाका लागि बन्द भइसकेका छन् र बन्द हुने क्रम चलिनै रहनेछ । यस्तै परिस्थिति केही समय रह्यो भने भविष्यमा पर्यटन क्षेत्रले अनुभवी जनशक्तिको अभाव झेल्नुपर्ने हुन्छ । विश्वले पर्यटन उद्योग सन् २०१९ को अवस्थामा फर्किन करिब साढे २ वर्ष लाग्ने आँकलन गरेको छ । यदि अनुमान गरिए जति समय लाग्यो भने हाम्रो अर्थतन्त्रका लागि यसको भर्पाइ खोज्नुपर्ने चुनौती रहनेछ । 

धक्का लागेको व्यवसाय र रोजगारी 

महामारीले व्यवसाय र रोजगारीमा पनि ठूलो धक्का दिएको छ । विशेष गरी विश्वभरकै सूक्ष्म, साना र मझौला व्यवसायहरूले समस्याहरू झेल्न सुरु गरिसकेका छन् । आधा जस्ता उनीहरूले तिर्नुपर्ने उधारो र बैंकको ब्याज तथा किस्ता तिर्न सकिरहेका छैनन् भने बाँकी रहेका पनि केही समयपछि सोही अवस्थामा पुग्नेछन् । अन्य विभिन्न तहका व्यवसायीहरूको पनि यही अवस्था छ । बाँच्नका लागि संघर्ष गर्ने क्रममा व्यवसायीहरूले खर्चहरू कटौती गर्न थालेका छन् । जसका कारणले करोडौं मान्छेको रोजगारी गुमेको छ भने गुम्ने क्रम चलिनै रहेको छ । विशेष गरी पर्यटनसँग जोडिएका व्यवसायहरू महामारीका कारणले नराम्रोसँग प्रभावित भई बन्द भइसकेका छन् ।

बन्द हुने क्रम पनि चलिनै रहेको छ । होटल, रेस्टुराँ, ट्राभल्स एजेन्सी, यातायात, हवाई, मनोरन्जनका क्षेत्र लगायतलाई यस महामारीले ठूलो क्षति पुर्याएको छ । लाखौंको संख्यामा विश्वभरि व्यवसायहरू पूर्णरूपमा बन्द भएको तथ्यांक बाहिरी सकेको छ ।  विश्वभर रहेका करिब ३३ करोड सूक्ष्म, साना र मझौला व्यवसायले विश्वको ९० प्रतिशत व्यापारको भाग ओगट छन् । विश्वको रोजगारीमा यो क्षेत्रले ५० प्रतिशत हिस्सा ओगट छ भने विश्व अर्थतन्त्रमा औपचारिक रूपमा दर्ता गरिएका यस्ता व्यवसायको ४० प्रतिशत बराबरको योगदान छ । अनौपचारिक व्यवसायहरूलाई पनि जोड्ने हो भने यिनको भूमिका अझै बढेर जान्छ । नेपालको सन्दर्भमा करिब १० लाख व्यवसाय रहेको अनुमान गरिएको छ । तीमध्ये लगभग आधामात्र कानुनी रूपमा दर्ता गरिएका छन् । जसमा ९५ प्रतिशत सूक्ष्म, ४ प्रतिशत साना र बाँकी मझौला र ठूला व्यवसायमा पर्छन् । यस क्षेत्रले ८५ प्रतिशत श्रमिकलाई रोजगारी दिएको छ ।

वर्तमानमा महामारीको कारणले यस क्षेत्रले बहपक्षीय समस्याहरू झेल्नु परिरहेको छ । लकडाउन र निषेधाज्ञाको कारणले यिनको व्यवसाय सुचारु हुन पाएन । अर्थतन्त्रमा पनि मन्दी देखियो, बेरोजगारीको संख्या बढ्यो, आम्दानी घट्यो वा स्रोत बन्द भयो, मागमा कमी आयो, जसका कारण बाँच्नकै लागि तर्सित हुनपर्याे । पुनः खुला भए तापनि सरल रूपमा आपूर्ति हुन सकेन, उत्पादन पनि सीमित भइराखेको छ र श्रमिकहरूको समस्या पनि देखिएको छ । माग गर्ने ग्राहकहरू पनि महामारीका कारणले खुम्चिएका छन् ।

अब यो क्षेत्रले महामारी पछि नयाँ किसिमको परिवेशको सामना गर्नुपर्नेछ । आफ्नो विगतको व्यवसाय गर्ने तरिकालाई नयाँ संरचनामा बदल्नुपर्नेछ भने प्रविधिहरूलाई अधिकभन्दा अधिक प्रयोगमा ल्याउनुपर्नेछ । अर्थात यिनले ऋणधन गरेर भए पनि बाँच्नका लागि लगानीका स्रोतहरू जुटाउनुपर्नेछ । आगामी दिनमा व्यवसायको निरन्तरता र रोजगारीको सिर्जना चुनौतीपूर्ण हुनेछ ।

पहुँच बाहिर शिक्षा र स्वास्थ्य 

कोभिड–१९ को कारणले इतिहासमै पहिलो पटक विश्वका सबै देशका करिब सबै शैक्षिक संस्थाहरू बन्द रहे । १.६ अर्ब विद्यार्थीहरू महामारीका कारणले पढाइबाट बञ्चित भए । जसका कारण यिनले विभिन्न अवसरहरूबाट बञ्चित हुनुपर्नेछ । अझ आगामी वर्ष पनि करिब २३ करोड थप बालबच्चाहरू विद्यालय पुग्नबाट आर्थिक अवस्थाका कारणले रोकिने छन् । बालबच्चाहरूलाई विद्यालय पठाउन नपाउँदा काममा जानेहरूका लागि काम छोड्नुपर्ने बाध्यता आइलाग्नेछ । बालिकाहरू विविध किसिमका हिंसाको शिकार बन्नेछन् । नेपालको पनि अवस्था विश्वको भन्दा फरक रहेन । दूरशिक्षाको नारा दिइएको भए पनि हाम्रो जस्तो देशका २ तिहाइभन्दा बढी विद्यार्थीले प्रविधिगत कमजोरी र कमजोर आर्थिक अवस्थाका कारणले पहँुच नै पाउन सकेनन् ।

यसपालिको महामारीले विश्वका सबै देशको स्वास्थ्य व्यवस्थालाई चुनौती दिएको छ । अति विकसित देशहरूका स्वास्थ्य प्रणालीलाई नै यो भाइरसले नङ्गाई दिएको छ भने साना र गरिब देशको हालत सजिलै अनुमान लगाउन सकिन्छ । यसपालिको महामारीले मानव जीवनलाई सबैभन्दा बढी मानसिक तनाव दिएको छ । उमेर पुगेका, दीर्घरोगी, बहुरोगी र कमजोर अवस्था भएकाहरूका लागि यो भाइरस अभिशाप नै सिद्ध भएको छ । करोडौं मान्छे  शिक्षा र स्वास्थ्यका लागि खर्च गर्नुपर्दा गरिबीमा धकेलिने छन् । स्कुल जाने उमेरका बालबालिकाहरू बाँच्नकै लागि असुरक्षित, अनौपचारिक र अस्थायी प्रकृतिका रोजगारीमा आश्रित हुन बाध्य हुनेछन् । 

कच्चा पदार्थको अभावमा उद्योग, कम असरमा कृषि 

यसपालिको महामारीले विश्वको औद्योगिक क्षेत्रलाई ठूलो पाठ सिकाएको छ । विश्वका सबै देशका उद्योगहरूले यसपालि उत्पादनका लागि औद्योगिक कच्चा पदार्थको ठूलो अभाव झेल्न बाध्य भए । त्यो किन तभन्दा प्रायः सबै उद्योगहरू कच्चा पदार्थका लागि चीनसँग आश्रित थिए । चीनबाट नै कोरोना भाइरसको उत्पत्ति भएकाले केही समय त्यहाँको उद्योगहरू बन्द हुँदा विश्वभरिका उद्योगहरूमा त्यसको असर परेको थियो । भनिन्छ विश्वका ७५ प्रतिशतभन्दा बढी उद्योगहरूका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिकर्ता चीनमा छन् ।

फ्ररच्युन १००० भित्र पर्ने विश्वका कम्पनीहरूमध्ये ९ सय ३८ वटा कम्पनीको कच्चा पदार्थ पनि चीनले नै आपूर्ति गर्छ । यसरी एउटै मात्र देशमा आश्रित हुँदा समस्याहरू खेप्नुपर्ने देखिएपछि अहिले सबै देशले स्थानीयस्तरमै त्यसको विकल्पका बारेमा सोच्न थालेका छन् । त्यस्तै महामारीको कारणले मान्छेदेखि मान्छे डराउनुपर्ने अवस्थापछि औद्योगिक प्रक्रियाहरूलाई प्रविधिमैत्री बनाउने विषयमा पनि उद्यमीहरू लाग्नुपर्ने देखिएको छ । 

कृषि क्षेत्र भने यसपालिको महामारीमा कम प्रभावित क्षेत्रमा पर्छ । समयमा मल, बीउ र औषधीलगायतका कृषिजन्य वस्तुहरू उपलब्ध नभए तापनि विश्वभरिनै कृषि उपजको उत्पादनमा वृद्धि भएको छ । जसका कारणले वस्तुभाउको मूल्य खासै बढेको महसुस आम उपभोक्तले गर्नुपरेन । तर, पनि महामारीको कारणले कृषिउपजहरू बजारसम्म पुर्याउन, सुरक्षित राख्न र मागको न्यूनताले गर्दा मूल्यमा सम्झौता भने गर्नुपर्याे । यति हुँदाहँुदै पनि कृषि क्षेत्रलाई सबैले अबका दिनमा प्राथमिकतामा राख्दै जाने कुरामा भने शंका छैन । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जीडीपीमा सेवा क्षेत्रको योगदान ५८ प्रतिशत छ । सेवापछि कृषिको २८.२० र उद्योग क्षेत्रको १३.७२ प्रतिशत योगदान छ । नेपालका उद्योगहरू पनि आयातित कच्चा पदार्थमै निर्भर छन् ।

तर, २ ठूला छिमेकीको समीपमा भएकाले हाम्रा उद्योगधन्दाहरूले खासै ठूलो समस्या लामो समयका लागि भोग्नुपरेन । तर, श्रमिकहरूको अभाव भने आजसम्म पनि खेपिरहेका छन् । यसपालि  विदेशबाट आएका र सहरबाट गाउँ पसेकाहरूले कृषिकर्ममा साथ दिएकाले मुख्य बालीको उत्पादन बढेर गएको छ । जीवनयापनका लागि महामारीको अवस्थामा यो राम्रो संकेत पनि हो । तर, यसरी कृषिकर्ममा हेलिएका जनशक्तिलाई टिकाइ राख्नुपर्ने चुनौती भने छ । 

यीबाहेक अन्य धेरै चुनौतीहरू आगामी दिनहरूमा देखिने छन् । गरिब र साना देशहरूले ऋणको थप भार बोक्नुपर्ने हुन्छ । बेरोजगारी र भोकको कारणले गृहयुद्ध, राजनीतिक खिचातानी, लैंगिक विभेद, अवसरमा असमानता जस्ता घटनाहरूमा वृद्धि आउनेछ । तर, नेपालका सन्दर्भमा माथि उल्लेख गरिएका चुनौतीहरूलाई कसरी पार लगाउन सकिन्छ भन्ने विषयमा मात्र योजनाहरू बनाई कार्यान्वयन गर्न सकेको अवस्थामा अर्थतन्त्रले पुनः पुरानै लय समात्ने सम्भावना देखिएको छ ।

पुँजीको परिचालन अति प्रभावित, मध्यम प्रभावित र कम प्रभावित क्षेत्रमा परिचालन गरेर व्यवसाय तथा मानवजीवनको सुरक्षित अवतरण गराउनका लागि सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्थाहरू, सहकारी लगायतले विशेष भूमिका खेल्न सक्ने भएकाले सबैको ध्यान त्यसैतर्फ केही समयका लागि केन्द्रित गर्नुपर्ने देखिन्छ । केन्द्रीय बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूले त्यस किसिमको औजारको परिचालन गरिसकेको, वाणिज्य बैंकका शाखाहरू लगभग सबै पालिकाहरूमा पुगिसकेको हुनाले तिनको उचित परिचालनले अहिलेको समस्याबाट पार पाउन सकिने सम्भावना प्रशस्त छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top