पर्यटन नेपालको दिगो विकासमा सहयोग गर्ने सबैभन्दा उत्तम क्षेत्र हो। पर्यटन क्षेत्रमा असंख्य समस्या भए पनि सम्भावना र अवसर त्यत्तिकै छन्। अहिले विभिन्न नाकाबाट नेपालमा धेरै पर्यटक आइरहेका छन्, जसलाई थप बढाउने काम गर्न जरुरी छ। यसरी आउने पर्यटक संख्या बढाउन नाकालाई उत्तिकै मात्रामा सहज र सरल बनाउनुपर्ने हुन्छ। हाम्रा नीतिमा धेरै समस्या भएकाले यसमा ठूलो सुधार आवश्यक छ। पर्यटक सम्भावनालाई हेर्ने हो भने काठमाडौं, पोखरा र चितवन मात्रै नभएर अन्य ठाउँ पनि त्यत्तिकै उपयुक्त छन्।
विभिन्न नाका हुँदै आउने पर्यटकका लागि सीमा व्यवस्थित छैनन्। भैरहवा, नेपालगञ्ज, विराटनगर तथा सुदूरपश्चिममा आउने पर्यटकका लागि त्यहाँका नाकाबाट आउजाउ गर्ने व्यवस्था सहज बनाएर अगाडि जानुपर्ने हुन्छ। नाकामा कार्यालय नै राखेर पर्यटकलाई सहजता प्रदान गर्न सक्नुपर्छ। नाकामा पर्यटकलाई सहजीकरण गर्ने कार्यालय राख्नुपर्छ भन्ने प्रस्ताव हामीले सन् २०२० मा गरेका थियौं। पर्यटकलाई दिइने भिसाको कुरा पनि सँगै जोडिएर आउँछ। दुई–तीन वटाबाहेक अन्य नाकाबाट भिसा दिइँदैन।
पर्यटक नेपाललाई मात्र एउटा गन्तव्य बनाएर आएका हुँदैनन्। उनीहरूले अरू देश पनि जाने योजना बनाएका हुन्छन्। भारत गएर जयपुर घुमेपछि भुटान र अन्य ठाउँ पनि जाने सोचले पर्यटक आएका हुन्छन्। भारतको कुनै ठाउँ घुमेर नेपाल आउने योजना बनाउने पर्यटक पनि हुन्छन्। यसर्थ, सबै नाकाबाट भिसा दिन सके पर्यटकलाई नेपाल आउन सहज हुने थियो। होटल एसोसिएसन अफ नेपाल (हान) तथा नेपाल पर्यटन बोर्ड (एनटिबी)ले पनि पर्यटकको सहज आउजाउका लागि नाकामा सेवा प्रवाह गर्ने इकाइ खडा गर्न सक्छन्।
यस्तै, हामीले पर्यटन गतिविधि गर्न भनेर पर्यटन बोर्ड स्थापना गरेका छौं। उक्त बोर्ड स्वायत्त भयो र केन्द्रमा मात्रै सीमित नभएर उसको काम मुलुकभर फैलियो भने अझ राम्रो हुनेछ। यसबाहेक उपत्यकाबाहिर र खासगरी विभिन्न नाका नजिकका पर्यटकीय स्थलमा पर्यटकलाई कसरी फैलाउन सकिन्छ भन्नेमा ध्यान दिन सक्नुपर्दछ। विभिन्न सुविधा, गन्तव्य स्थलसँगको पहुँच दिन सके नेपाल भित्रिने पर्यटक संख्या बढेर जान सक्छ। विराटनगर, नेपालञ्जजस्ता ठाउँमा पनि हामीले पर्यटक आकर्षित गर्न सक्छौं। हामीले दिल्लीबाट सीधै विराटनगर, धनगढी र नेपालगञ्जको पनि हवाई व्यवस्था गर्न सकियो भने पर्यटन उद्योग मात्र नभएर अरु क्षेत्रमा पनि योगदान पुग्छ।
पर्यटन तथा अन्य उद्योगको विकासका लागि कनेक्टिभिटीलाई जोड दिनैपर्ने हुन्छ। हामीले नीतिगत सुधारका कुरा गरे पनि त्यसमा देखिने गरी सुधार हुन सकेको छैन। सरकारले अहिले टिकटमा पनि कर लगाएकाले यसले राजस्व उठ्नुभन्दा पनि ट्राभल एजेन्सीको मनोबल घटेको छ। करकै कारण सबैले भारतबाट टिकट लिइरहेका छन्। यस्ता कुरामा सरकारले ध्यान दिनुपर्छ। सर्वप्रथम पर्यटन उद्योगलाई उद्योगसरह व्यवहार गर्नुपर्छ। उद्योगसरह सुविधा पाउनुपर्ने मागसहित धेरै अगाडिदेखि यसमा लागिरहेका छौं। यदि यसमा सुधार भयो भने उपत्यका र पोखरामा मात्र नभई अन्य विभिन्न नाकाका होटललाई पनि फाइदा पुग्दछ।
पर्यटन क्षेत्रमा महिला एकदमै धेरै छन्। कुनै पनि ठाउँमा ड्राइभ गरेर जाँदा पनि त्यो देख्न सकिन्छ। धेरै रेस्टुरेन्ट महिलाले चलाइरहेका छन्। ट्राभल एजेन्सीमा पनि धेरै महिला देखिन्छन्। अझ भन्नुपर्दा होमस्टे चलाउने धेरै महिला नै छन्। ठूल्ठूला होटलको उच्च पदमा महिला नभए पनि अन्यमा धेरै छन्। यो मुलुकका लागि सकारात्मक हो। अहिलेका युवा नयाँ–नयाँ योजना लिएर पर्यटन क्षेत्रमा आएका छन्। होटलमा मात्र नभई पर्यटनसँग जोडेर विभिन्न विषय बाहिरिएका छन्। यसलाई स्वागत र सहजीकरण गर्न सक्नुपर्छ।
पर्यटनले हरेक घरमा स्वरोजगार वृद्धि गर्ने काममा सहयोग गरिरहेको हुन्छ। हाम्रोमा एग्रो पर्यटन धेरैले खोलेका छन्, जुन विभिन्न जिल्लामा घुम्दै जाँदा पनि देख्न सकिन्छ। मेघनाथ तालमा होमस्टे सञ्चालन गर्ने, पोखरी खनेर मत्स्यपालन गर्ने धेरै छन्। यसर्थ, निजी क्षेत्रलाई राखेर नीति बनाउन सकियो भने त्यसको मर्म बुझ्न सकिन्छ। पर्यटन उद्योगलाई उद्योगसरह बनाउन हानले केही सुझाव दिइरहेको छ। महिलाका लागि पर्यटनमा उद्यमशीलता विकास भनेर नयाँ कोर्ष थपिएका छन्। यसबाट धेरै महिला पर्यटन क्षेत्रमा जान चाहन्छन्।
होटल खोल्ने भन्दा पनि त्यसमा जोडिएर काम गर्न चाहने मानिस धेरै छन्। त्यस कारण यसमा सहयोग गर्ने भनेको हाम्रो नीतिले नै हो। उद्योग वाणिज्य महासंघमा महिलाको संगठन महिला उद्यमी महासंघ छ। त्यहाँबाट धेरै महिला पर्यटन क्षेत्रमा लागेका छन्। पर्यटनसम्बन्धी हस्तकलामा पनि उत्तिकै सम्भावना छ। नेपालमा आएका पर्यटकले हस्तनिर्मित र ‘नेपाल मेड’ सामान धेरै ठाउँ पु¥याएका छन्। यस्ता ठाउँमा पर्यटकलाई घुमाउन जोड दिनुपर्छ। नेपालमा महँगा पर्यटकलाई पनि केन्द्रमा राखेर पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ।