काठमाडौं। बढ्दो सार्वजनिक विद्युतीय सवारीसाधन (ईभी) दुर्घटना हुनुमा नेपाल प्रहरीले सवारी चालकलाई मुख्य दोषी औंल्याएको छ। चालकको लापर्वाहीकै कारण ईभी भ्यान दुर्घटना भएको र त्यसको दोष उनीहरूकै प्रहरीले उल्लेख गरेको छ।
पछिल्लो समयका ईभी दुर्घटना चालककै कारण भएको देखिन्छ। केही वर्षयता नेपालमा सार्वजनिक यातायातको रुपमा ईभी भ्यान प्रयोग बढ्दो छ। लामो होस् या छोटो। हरेक ठाउँमा विद्युतीय सवारीकै प्रयोग बढ्न थालेको छ।
वर्षौंदेखि इन्धन(आइसीई) गाडचालक अहिले नयाँ प्रविधि जडित ईभी सञ्चालन गर्न थालेका छन्। सरकारले विद्युतीय सवारीमा प्रोत्साहन गरेकै कारण सवारीमा लाग्ने करमा दिएको छुटले आईसी गाडीको तुलनामा ईभी सस्तो रहेकाले धेरैको आकर्षण यसमा बढेको व्यवसायीको भनाइ छ।
सञ्चालन खर्च सस्तो पर्ने भएपछि धेरैको ध्यान ईभीमा परिरहेको छ। तर, अहिले भइरहेका सडक दुर्घटनामा धेरै मात्रामा ईभी नै देखिएका छन्। त्यसमा पनि सार्वजनिक यातायातको रुपमा प्रयोग हुने ईभीको संख्या बढी छ।
ईभीमा कन्भर्ट हुँदा दिइँदैन तालिम
लामो समयदेखि आइसीई इन्जिनका गाडी चलाइरहेका सवारी चालकलाई एकैपटक ईभी चलाउन दिँदा पर्याप्त ज्ञान र जानकारी दिइएको हुन्छ÷हुँदैन भन्ने प्रश्न उठ्न थालेको छ।
आईसी इन्जिनको तुलनामा ईभी गाडी चलाउन सहज हुन्छ। सोही कारण आइसीकै जसरी सवारी चालकले द्रुत गतिमा सवारी चलाउदा धेरै दुर्घटना हुन थालेको यातायातविज्ञ आशीष गजुरेलको बुझाइ छ।
‘जतिबेला आर्एसीबाट ईभी गाडी चलाउन दिइन्छ, त्यो बेला अनिवार्य ओरिउन्टेसन दिने व्यवस्था गर्नुपर्छ,’ यातायातविज्ञ गजुरेलले भने, ‘अहिलेको बढ्दो दुर्घटना न्यूनीकरण गर्न सरकार गम्भीर हुनुपर्छ।’ दुर्घटनादर बढ्दै जाँदा ट्राफिक प्रहरीले पनि निगरानी गर्नुपर्ने सरोकारवाला निकाय सुझाउँछन्।
नेपालमा ईभी आयातमा प्राथमिकता दिन थालिए पनि चालकका लागि आधारभूत तालिम र व्यावहारिक ज्ञान अभावले दुर्घटनाको जोखिम बढेको हो।
‘डिजेल/पेट्रोल गाडी चालक एक्कासि ईभीमा आउँदा अनुभव कम भएर पनि दुर्घटना हुने गरेका छन्,’ गजुरेलले भने ‘ईभीमा दक्षताा धेरै भएकाले पिकअप र गति चाँडो जाने हुँदा त्यसलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना बढी हुने जोखिम हुन्छ।’
सडकमा गाडी अनियन्त्रित वा द्रुत गतिमा चलाइरहेको निगरानी गर्ने जिम्मेवारी प्रहरीकै हुने विज्ञहरू बताउँछन्। ईभी गाडी चलाइरहादा त्यससम्बन्धी पर्याप्त ज्ञान भए÷नभएको सोधीखोजीसमेत गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ।
ईभी विश्वमै नयाँ प्रविधियुक्त सवारी भएकाले सञ्चालन गर्नुअघि चालकलाई प्राविधिक र सुरक्षासम्बन्धी ज्ञान आवश्यक पर्ने भए पनि अधिकांश चालकले बिनातयारी गुडाइरहेका छन्। सरकारले २०३५ सम्म सार्वजनिक ईभीको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्य राखेका कारण यसको हिस्सा बढाउन पनि सार्वजनिक ईभी चालकलाई ओरियन्टेसन दिएर सचेत गराउनु आवश्यक छ।
अहिले जति ईभी दुर्घटना भएका छन्, त्यसमा अधिकांश चालकको लापर्वाही देखएिको प्रहरी प्रवक्ता विनोद घिमिरे बताउँछन्। ‘ईभीमा जति पनि दुर्घटना भएका छन्, त्यसमा अधिकांश चालकको लापरर्वाही देखिएको छ। ईभी चालकले गाडीको विशेष प्रविधि, गति नियन्त्रण प्रणाली तथा आपतकालीन अवस्थाको समाधानबारे पर्याप्त जानकारी नपाएका कारण समस्या देखिएका छन्’, उनले भने।
ईभी गाडीमा धेरै पिकअप हुने हुँदा र चालकलाई तालिम नदिइँदा दुर्घटना हुने सम्भावना देखिन्छ। नेपालमा ईभी आयातमा प्राथमिकता दिन थालिए पनि चालकका लागि आधारभूत तालिम र व्यावहारिक ज्ञान अभावले दुर्घटनाको जोखिम बढेको हो।
दुर्घटना कम गर्न चालकलाई प्रशिक्षण अनिवार्य
पछिल्लो केही महिनामा सार्वजनिक ईभी दुर्घटना बढ्दै गएपछि यस क्षेत्रमा काम गरिरहेका विज्ञ र सरोकारवाला निकायले चालक प्रशिक्षणलाई अनिवार्य बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार धेरैजसो दुर्घटनाको कारण चालकको अपर्याप्त तालिम, सवारीको प्रविधिबारे जानकारी कमी र सवारी सञ्चालनमा लापर्वाही रहेको पाइएको छ।
दुर्घटना कम गर्न सार्वजनिक ईभी चालकलाई प्रशिक्षण दिइनुपर्छ भनेरै छलफल गरिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल बताउँछन्। ‘सार्वजनिक सवारी चालक र निजी सवारी चलाउनेमा फरक छ,’ महानिर्देशक पोखरेलले क्यापिटल नेपालसँग भने, ‘निजी सवारी चलाउनेको ज्यानको मात्र रिस्क हुन्छ। तर, सार्वजनिक सवारी चालकको हातमा धेरै मानिसको ज्यान हुन्छ। त्यसकारण सार्वजनिक यातायात चालकलाई बृहत ओरियन्टेसन दिनुपर्छ भनेर छलफल गरिरहेका छौं।’
सार्वजनिक सवारी चालकलाई डिजिटल वा अरु माध्यमबाट ओरियन्टेसन कसरी दिन सकिन्छ भनेर काम गरिरहेको महानिर्देशक पोखरेलको भनाइ छ। ईभीको संख्या बढ्दै जाँदा चालकको लापर्वाहीका कारण दुर्घटना पनि बढ्दै गएकाले प्रशिक्षण अपरिहार्य भएको पोखरेलको भनाइ छ।
ईभी गाडी डिजेल/पेट्रोलभन्दा फरक हुन्छ। यसमा विशेष प्रविधि, ब्रेकिङ सिस्टम, ब्याट्री व्यवस्थापन आदिमा दक्षता आवश्यक पर्छ। त्यसैले चालकलाई विशेष प्रशिक्षण दिइनु जरुरी देखिएको हो।
ईभी दुर्घटना कम गराउन राज्यले चालकलाई परीक्षण दिन नीति नै बनाइदिनुपर्ने यातायात विज्ञ गजुरेल बताउँछन्। ‘सडक पूर्वाधार पनि सुधार गर्नुपर्छ। सरकारले यसको स्ट्यान्डर्ड तोक्नुपर्छ। नियम कानुन राम्रोसँग लागू र प्रविधिमैत्रि हुनुपपर्छ,’ यातायात विज्ञ गजुरेल भन्छन्, ‘सरकार र सञ्चालक दुवै मिलेर तालिम दिनुपर्छ। यति गर्न सकिए दुर्घटनामा कमी ल्याउन सकिन्छ।’
विभागले चालकलाई ईभी सञ्चालनसम्बन्धी अनिवार्य ओरियन्टेसन दिने नीतिगत पहल नगर्दा दुर्घटना बढेको विज्ञको तर्क छ। विद्युतीय सवारी पुराना इन्धन चालित सवारीभन्दा प्रविधिमैत्री भए पनि त्यसको सुरक्षित सञ्चालनका लागि चालकलाई सचेतना अत्यावश्यक रहेको उनीहरु ठान्छन्।