काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार वैशाख २०८३ सम्म नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ४ करोड ५२ लाख १९ हजार ९६ पुगेको छ। यो संख्या नेपालको कुल जनसंख्याको १५५ प्रतिशतभन्दा बढी हो।
एक व्यक्तिले एकभन्दा बढी इन्टरनेट सेवा प्रयोग गर्ने प्रवृत्तिका कारण ब्रोडब्यान्ड पहुँच जनसंख्याभन्दा माथि पुगेको प्राधिकरणले जनाएको हो।
पछिल्ला वर्षमा मोबाइल ब्रोडब्यान्ड र फाइबर इन्टरनेटको द्रुत विस्तारसँगै देशभर डिजिटल पहुँच उल्लेखनीय रूपमा बढेको देखिएको छ।
त्यसैगरी भ्वाइस टेलिफोन अर्थात् मोबाइल तथा फोन सेवाका कुल सक्रिय ग्राहकको संख्या ३ करोड २ लाख ४८ हजार ९५८ पुगेको छ। यो नेपालको कुल जनसंख्याको १०३ दशमलव ७१ प्रतिशत बराबर हो।
भ्वाइस टेलिफोनी बजारमा नेपाल टेलिकमले आफ्नो अग्रता कायम राखेको छ। तथ्यांकअनुसार टेलिकमको बजार हिस्सा ५३ दशमलव ५८ प्रतिशत रहेको छ। कम्पनीका ग्राहक १ करोड ६२ लाख ८ हजार ४ सय ७४ पुगेका छन्। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ४६ दशमलव ४१ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा छ।
वैशाखसम्म एनसेलका कुल ग्राहक १ करोड ४० लाख ३९ हजार ३ सय २ पुगेका छन्। अन्य साना सेवाप्रदायकको बजार हिस्सा शून्य दशमलव शून्य शून्य चार प्रतिशत मात्र र ग्राहक संख्या १ हजार १ सय ८२ रहेको छ।
भ्वाइस सेवामा मोबाइल प्रविधिको वर्चस्व देखिएको छ। कुल ग्राहकमध्ये २ करोड ९८ लाख ३१ हजार ६ सय ८ जना मोबाइल सेवामा आबद्ध छन्, जुन कुल भ्वाइस बजारको ९८ दशमलव ६२ प्रतिशत हो। परम्परागत तारयुक्त टेलिफोन प्रयोगकर्ताको संख्या ४ लाख १६ हजार १ सय ६८ मात्र रहेको छ, जसको हिस्सा १ दशमलव ३७ प्रतिशतमा सीमित छ।
कुल ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये मोबाइल ब्रोडब्यान्डको हिस्सा ८८ दशमलव ७४ प्रतिशत छ भने तारयुक्त ब्रोडब्यान्डको हिस्सा ११ दशमलव १५ प्रतिशत रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। यस्तै, चौथो पुस्ताको मोबाइल सेवाका ग्राहक संख्या २ करोड ६७ लाख ३३ हजार २ सय ८ पुगेको छ।
देशभर फाइबर इन्टरनेट जडानको संख्या ३४ लाख ५६ हजार १ पुगेको छ। फिक्स्ड ब्रोडब्यान्ड बजारमा वल्र्डलिंक कम्युनिकेसन्सले नेतृत्व कायम राखेको छ। कम्पनीका १० लाख ७८ हजार ७ सय ९ ग्राहक छन्, जसले कुल बजारको ३० दशमलव ९३ प्रतिशत हिस्सा ओगटेको छ।
टेलिकम ३ लाख ८३ हजार १ सय १ ग्राहकसहित १० दशमलव ९८ प्रतिशत बजार हिस्सा लिएर दोस्रो स्थानमा छ। डिस मिडिया नेटवर्क ३ लाख ६९ हजार २ सय १८ ग्राहकसहित १० दशमलव ५९ प्रतिशत हिस्साका साथ तेस्रो स्थानमा छ।