बिहीबार, मंसिर १६ २०७८ ०४:३१ PM

×

भारुसँग स्थिर विनिमय दरका कारण नेपालले वित्तीय संकट भोग्नु परेको छैन 

images

नेपालले हाल द्वैध विनिमय दर नीति अवलम्बन गरेको छ । नेपाली रुपैया (नेरु) को भारतीय रुपैया (भारु) सँग स्थिर र परिवत्र्य विदेशी मुद्राहरुसँग खुला बजार विनिमय दर प्रणाली नेपालले अवलम्बन गरेको छ । नेरुको भारु सँगको स्थिर विनिमय दर प्रणाली २०१७ वैशाख १ गतेदेखि कायम छ । वि.सं.२०४९ फागुन १ गते देखि ने.रु. को परिवत्र्य विदेशी मुद्राहरुसँग खुला बजार विनिमययदर पद्धति लागु छ । २०४९ फागुन १ गतेदेखि ने.रु.लाई चालु खाता कारोबारको लागि पूर्ण परिवत्र्यता प्रदान गरिएको छ ।

वि.सं.२०१७ बैशाख १ पहिला ने.रु.को भा.रु.सँगको विनिमय दर मूलतः बजारको माग र आपूर्तिअनुसार परिवर्तन भइरहन्थ्यो । खुला बजार विनिमय दर प्रणाली नेपालले अवलम्बन गरेको अवस्था थियो । द्वय मुद्रा प्रणाली थियो । नेपालमा नेपालीको मुद्राका अतिरिक्त भारतीय मुद्राको व्यापक चलन चल्ती थियो । नेपाली अर्थतन्त्र ज्यादै पिछडिएको थियो । १९९४ मा नेपाल बैंक, २०१३ मा नेपाल राष्ट्र बैंक र २०१६ मा नेपाल औद्योगिक विकास निगम स्थापना भए बाहेकका वित्तीय संस्थाहरु थिएनन् । निर्यात सीमित थियो ।

व्यापारमा विविधता थिएन । खाद्यान्न तथा वनजन्य बस्तुहरुमा नेपाल आत्मनिभर थियो । विदेशी विनिमय नियन्त्रणमा थिएन । सराफीहरुले ने.रु र भा.रु. बिनिमय दर निर्धारण गर्थे । विनिमय दर सधै अस्थिर रहने गर्थ्यो । सर्वसाधारण नागरिक तथा उद्योगी–व्यवसायीको पनि अस्थिर विनिमय दरका कारण सधै मर्कामा परेको गुनासो रहने गर्थ्यो । यही मौद्रिक अस्थिरताका कारण भारु को चलन

चल्ती नेपालबाट हटाउन नीति निर्माताहरुलाई चुनौतीको विषय बनेको थियो । नेपाली मुद्राको बाह्य मूल्यमा स्थिरता कायम नरहुन्जेल सर्वसाधारण नागरिकको ने.रु.माथि आस्था बढाउने स्थिति थिएन । यही पृष्ठभूमिमा नेपालले २०१७ बैशाख १ मा भा.रु.सँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्ने नीति लिएको हो । यो नीतिको उद्देश्य प्राप्तीका लागि तोकिएको दरमा भा.रु. असीमित मात्रामा एकतर्फीरुपले राष्ट्र बैंकले खरिद तथा बिक्री गर्ने व्यवस्था गर्यो ।

लगतै संस्थागत व्यवस्थाको थालनी गर्न २०१७ जेठ२० गते विदेशी विनिमय सटही नियन्त्रण ऐन, २०१७ जारी भयो । यो ऐनले विदेशी विनिमयमा कारोबार गर्न राष्ट्र बैंकसँग इजाजत पत्र लिनुपर्ने र बैकले तोकेको दरमा खरिद/बिक्री गनुपर्ने व्यवस्था गर्यो । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ ले सो ऐनलाई विस्थापित गरेको छ । सन १९९३ मा भारतले बजार विनिमय दर प्रणाली अवलम्बन गरेपछि उत्पन्न स्थितिमा नेपालले वि.सं.२०४९ फागुन १ देखि परिवत्र्य विदेशी मुद्राहरुसँग खुला बजार विनिमय दर प्रणाली अंगालेको हो ।

चल्ती नेपालबाट हटाउन नीति निर्माताहरुलाई चुनौतीको विषय बनेको थियो । नेपाली मुद्राको बाह्य मूल्यमा स्थिरता कायम नरहुन्जेल सर्वसाधारण नागरिकको ने.रु.माथि आस्था बढाउने स्थिति थिएन । यही पृष्ठभूमिमा नेपालले २०१७ बैशाख १ मा भा.रु.सँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्ने नीति लिएको हो । यो नीतिको उद्देश्य प्राप्तीका लागि तोकिएको दरमा भा.रु. असीमित मात्रामा एकतर्फीरुपले राष्ट्र बैंकले खरिद तथा बिक्री गर्ने व्यवस्था गर्यो ।

यो व्यवस्था अनुसार वाणिज्य बैंकहरुले माग र आपूर्तिको आधारमा खुला बजार विनिमय दर तोक्दै र आफूले तोकेको दरमा कारोबार गर्दै आएका छन् । भा.रु.सँग स्थिर विनिमय दर रहेको सन्दर्भमा राष्ट्र बैंकले बजार विनिमय दरलाई आधार लिई परिवत्र्य मुद्रा लागायत अन्य मुद्राहरुको सन्दर्भ विनिमय दरहरु सार्वजनिक गर्दै आएको छ । राष्ट्र बैंकले सन्दर्भ विनिमय दर तोक्दा छड्के दरको स्थिति नआओस् भन्ने तर्फ ध्यान पुर्याएको हुन्छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर पद्वति रहेको पृष्ठभूमिमा ने.रु.– अमेरिकी डलर बीचको विनिमय  दरले छडके विनिमय दरको स्थिति नल्याओस् भन्नुको तात्पर्य भा.रु.–अमेरिकी डलरवीचको विनिमय दर अनुसार नै नेरु–अमेरिकी डलरबीचको विनिमय दर निर्धारण होस् भन्ने नै हो । भा.रु.को खासगरी अमेरिकी डलरसँगको विनिमय दरले नै ने.रु.को अमेरिकी डलर लगायत अन्य परिवत्र्य विदेशी मुद्रा
सँगको विनिमय दर निर्धारण हुने भएकोले नेपालको विनिमय दर प्रणाली समग्रमा स्थिर विनिमय दर प्रणाली नै हो ।

नेपालले भा.रु.सँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्नको प्रमुख कारण मौद्रिक स्थिरता रहेको देखिन्छ । २०१७ वैशाख १ बाट भा.रु.सँग अवलम्बन गरिएको स्थिर विनिमय दर प्रणाली हालसम्म आईपुग्दा स्थिर नै राखिएको छ । नेपालले अवलम्बन गरेको विदेशी विनिमय दर प्रणाली समायोजन गरिने खालको भएको हुनाले बीचमा विनिमय दरमा परिवर्तन भए पनि विनिमय दर प्रणाली विगत ६०
वर्षसम्म यथावत जीवित छ । २०१७ साल वैशाख १ गते भा.रु. १०० को ने.रु. १६०।– निर्धारण गरिएको विनिमय दर घुमीफिरी २०७७ सम्ममा सोही दर कायम छ । ६० वर्ष पछि पनि प्रणाली र दर उही रही आएको छ ।

फाइदा

वि.सं.२०१७ वैशाख १ गते नेपाल खुला बजार विनिमय दर प्रणालीबाट स्थिर विनिमय दर प्रणालीमा प्रवेश गर्दा नेपालमा द्वय मुद्रा प्रणाली र अस्थिर विनिमय दर स्थितिलाई एकीकृत अर्थ व्यवस्था निर्माणका बाधकको रुपमा लिइएका थिए । यस सन्दर्भमा स्थिर विनिमय दर प्रणालीलाई मौद्रिक अर्थतन्त्र निर्माणको एक महत्वपूर्ण खम्वाको रुपमा लिइएको थियो । एकातर्फ वस्तु विनिमयको अवस्था
र अर्कोतर्फ जीवन निर्वाहमुखी अर्थतन्त्रको पूर्णतया मौद्रिकीकरण पनि नभएको स्थिति थियो । यस पृष्ठभूमिमा नेपाली मुद्राको आन्तरिक तथा बाह्य मूल्यमा स्थिरता कायम राख्ने उद्देश्यले विगत ६० बर्ष यता नेपालले भा.रु.सँग स्थिर विनिमय दर प्रणाली यथावत कायम गरेको देखिन्छ ।

स्थिर विनिमय दर लगायत आधुनिक अर्थतन्त्र निर्माणका लागि भएका नीतिगत प्रयास स्वरुप नेपालका अधिकांश आर्थिक गतिविधि हाल मौद्रिकीकृत भइसकेका छन् । विगत २० वर्ष यता कामका लागि विदेशमा जाने नेपालीको संख्या र विप्रेषण आप्रवाह उल्लेख्य बढेका कारण मौद्रिक अर्थतन्त्र निर्माणले गति लिएको छ ।

बाह्य विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादन सँगको अनुपात २५ प्रतिशतको हाराहारीमा रहेको अर्थतन्त्रमा मौद्रिक स्थिरताको वातावरण कायम गर्न स्थिर विनिमय दर प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि नेपालले लामो समयसम्म स्थिर विनिमय दर प्रणाली कायम गरेको देखिन्छ ।

नेपालको बाह्य व्यापार भारत केन्द्रित नै रहेको छ । विविध नीतिगत पहल गरिए पनि नेपालको अन्तर्राष्ट्रिय व्यापार संरचनामा ठूलो परिवर्तन आउन सकेको छैन । नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको अंश करिव ६५ प्रतिशत रहेको छ । यस्तो अवस्थामा मूल्य स्थिरता कायम गर्न मद्दत मिल्ने भएकाले मौद्रिक नीतिको महत्वपूर्ण अंगको रुपमा भा.रु सँगको स्थिर विनिमय दर प्रणालीलाई लिइएको छ ।

भारतको न्यून मुद्रास्फीतिको लाभ नेपालले स्थिर विनिमय दर प्रणालीबाट लिइरहेको छ । नेपालले विरलै दोहोरो अंकको मुद्रास्फीतिको स्थिति भोग्नुमा स्थिर विनिमय दरको महत्वपूर्ण योगदान छ । मूल्य स्थिरताले नेपालमा गरिवी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालले हाल अवलम्बन गरेको स्थिर विनिमय दर प्रणालीको अर्को फाइदा यसको मौद्रिक अङ्कुशको काम हो । स्थिर विनिमय दर प्रणालीले विदेशी विनिमय दर नीतिलाई मौद्रिक नीतिसँग जोड्छ । स्थिर विनिमय दर प्रणालीले नीति निर्माण कर्तालाई अनुशासित बनाउछ । यस क्रममा स्थिर विनिमय दर प्रणालीले समग्र आर्थिक स्थायित्व कायम गर्न मद्दत पुर्याउन्छ । पारदर्शि र विश्वसनीय मौद्रिक अङ्कुशका कारण मुद्रास्फितिलाई नियन्त्रणमा राख्न मद्दत पर्याउँछ ।

स्थिर विनिमय दर प्रणालीको अर्को लाभ वित्तीय क्षेत्रको स्थायित्व हो । विनिमय दरलाई सुरक्षित राख्न केन्द्रीय बैंकले मौद्रिक नीति तजुर्मा गर्दा मौद्रिक तथा कर्जा योगाङ्कहरुलाई वान्छित सीमामा राख्ने रणनीति अवलम्बन गर्नुपर्ने हुन्छ । कर्जा योगाङ्क वान्छित सीमामा रही नियन्त्रित अवस्थाम रहने भएकाले

स्थिर विनिमय दर प्रणालीले वित्तीय क्षेत्र स्थायित्व कायम गर्न मद्दत पर्याउँछ । स्थिर विनिमय दर प्रणालीका कारण समेतले नेपालले वित्तीय सङ्कटको स्थिति भोग्नु परेको छैन ।त्यस्तैगरी स्थिर विनिमय दर प्रणालीको फाईदा शोधानान्तर स्थितिलाई अनुकुल बनाइराख्ने पनि हो । 

बाह्यक्षेत्र स्थायित्वका चार सैद्धान्तिक आधार

(क) लोचनशीलताको अवधारणा 

(ख) समग्र आय–खर्च
अवधारणा 

(ग) संरचनागत सुधार र 

(घ) शोधानान्तर सम्वन्धी मौद्रिक दृष्टिकोण  मध्ये स्थिर विनिमय दर प्रणालीमा पछिल्लो अवधारणा आत्मसात गरिने भएकोले मुलुकको शोधनान्तर स्थितिमा सन्तुलन कायम गर्न सकिने हुन्छ । 

यही अवधारणाका आधारमा नेपालमा मौद्रिक व्यवस्थापन गरिदै आएको हुनाले २०३२ देखि यता ४५ वर्षको अवधिमा नेपालले आर्थिक वर्ष ०३९/०४० देखि आर्थिक वर्ष ०४१/०४२, आर्थिक वर्ष ०५१/०५२ र ०५२०५३, आर्थिक वर्ष ०५८/०५९, आर्थिक वर्ष ०६६/०६७ र आर्थिक वर्ष ०७५/०७६ गरी पाँच पटक मात्र शोधान्तर घाटाको स्थिति व्यहोर्नु पर्यो । यी पाच पटक मध्ये पहिलो आर्थिक वर्ष ०३९/०४० देखि ०४१/०४२ को शोधान्तर घाटाको स्थितिमा मात्र नेपालले नीतिगत उपायको रुपमा विनिमय दरलाई चलाउनु परेको थियो ।

यही क्रममा २०४२ मंसीर १५ गते ने.रु.को भा.रु.सँग १३.७ प्रतिशतले अवमुल्यन गरी प्रति भारु१००।– को रु.१४५।– बाट रु. १६८ कायम गरिएको थियो । यो बाहेक नेपालले ठूलो स्केलमा मुद्रा सङ्कटको स्थिति व्यहोर्नु परेन । स्थिर विनिमय दर प्रणालीको अर्को सकारात्मक पक्षको रुपमा व्यापार र लगानी सहजीकरणको पनि चर्चा गरेको पाईन्छ । स्थिर विनिमय दर प्रणालीमा विनिमय दरको जोखिम कम हुने विश्वास गरिन्छ ।

विनिमय दर अनिश्चिताको वातावरण नहुने भएकाले बजार अनुमानयोग्य हुन्छ र कारोबार लागत कम हुन्छ । यसैले गर्दा व्यापार र लगानी मुलुकमा फस्टाउने तर्क हँुदैआएको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापार खास गरी आयात उच्च छ । तर, बाह्यलगानी अपेक्षित बढ्न सकेको छैन । स्थिर विनिमय दर प्रणालीबाट नेपालले बाह्यलगानीको लाभ लिन सकेको छैन ।

बेफाइदा

नेपालले जुन आर्थिक र मौद्रिक अवस्थामा भा.रु.सँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको थियो । त्यो अवस्थालाई विश्लेषण गर्दा भा.रु.सँगको स्थिर विनिमय दर प्रणालीलाई उपयुक्त मान्नु पर्ने विश्लेषण माथि भईसकेको छ । भारतसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार केन्द्रित रहेको पृष्ठभूमिमा भा.रु.सँगको स्थिर विनिमय दर प्रणाली सैद्धान्तिक हिसावले सान्दर्भिक देखिन्छ ।

मूल्य, बाह्यर वित्तीय क्षेत्र स्थायित्व कायम गर्न स्थिर विनिमय दर प्रणाली नेपालमा प्रभावकारी रहेको विश्लेषण पनि माथि भईसकेको छ । २०४९ सालमा भारतले खुला बजार विनिमय दर प्रणाली अवलम्बन गरेको र नेपालले तत्कालै भारत सँगको स्थिर विनिमय दर प्रणाली खारेज गर्न सक्ने परिस्थिति नदेखिएको सन्दर्भमानेपालले द्वय विनिमय दर नीति अवलम्बन गर्नु व्यवहारिक देखिन्छ ।

तर, विद्यमान द्वय विनिमय दर नीति प्राज्ञिक दृष्टिकोणले उपयुक्त नरहेको तर्क आउने गरेको छ । भा.रुसँग स्थिर विनिमय दर प्रणालीका कारण व्यापार घाटा उच्च रहन गएको, कृषि फस्टाउन नसकेको, खाद्यान आयात बढेको, पर्यटन क्षेत्रको विकास नभएको र विप्रेषण क्षेत्र प्रोत्साहित हुन नसकेको प्राज्ञिक तर्क हुने गरेको छ ।

भारु सँगको विनिमय दर प्रणाली स्थिर तर समायोजन योग्य भए पनि वि.सं.२०४९ फागुन १ देखि यता लामो समय सम्म कुनै फेरवदल नगरी यथावत राखिएकोले विनिमय दर अपसंरेखित भएको चर्चा हुने गरेको छ । अन्य देशहरुको तुलनामा नेपालको मुद्रास्फति केही उच्च रहेकोले नेपालको यर्थाथ प्रभावी विनिमय दर अधिमुल्यन रहेको प्रसङ्ग सँधै उठने गरेको छ ।

यर्थाथ विनिमय दर अधिमुल्यन भएकै कारण नेपालको निर्यात अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन नसकेको र आयात सस्तो हुन गई नेपालको व्यापार घाटा फराकिलो हुदै गएको प्राज्ञिक तर्क हुदै गरेको छ । स्थिर विनिमय दर प्रणालीले आर्थिक स्थायित्व कायम गर्न मद्दत पुर्याएता पनि अर्थतन्त्रलाई गतिशिल बनाउन नसकेको र उत्पादकत्व बढाउन उत्प्रेणा दिन नसकेको चर्चा हुने गरेको छ ।

भारुसँग स्थिर तर परिवत्र्य मुद्राहरुसँग खुला बजारमा आधारित विनिमय दर अवलम्बन गरिएका कारण भा.रु.–अमेरिकी डलर बीचको विनिमय दरमा उतार चढाव आँउदा नेरु–अमेरिकी डलर बीचको विनिमय दरमा आउने उत्तारचढावले नेपाली अर्थतन्त्रमा प्रतिकुल परिस्थिति उत्पन्न हुने चर्चा हुने गरेको छ । विनिमय दरको कारण भारतले व्यहोरेको धक्का विना कारण नेपालले व्यहोर्नुपर्ने स्थिति राम्रो नरहेको तर्क वेलाबखत सुनिन्छ ।

स्थिर विनिमय दर प्रणालीका कारण नेपालले मौद्रिक र वित्त नीति स्वतन्त्रतापूर्वक आर्थिक विकासको लागि प्रयोग गर्न नसकिएको विश्लेषण हुने गरेको छ । यही कारणले नेपालले स्वतन्त्रतापूर्वक ब्याजदर तथा कर्जानीति अवलम्बन गर्न सकेको देखिदैन । सरकारले पनि सरकारी वित्त नीतिलाई संयमित र संकुचित राख्नु परेको विश्लेषण हुदै आएको छ । यही कारण नेपालले आर्थिक विकासको लागि घाटा बजेट नीति अख्तियार गर्न नसकेको र सार्वजनिक ऋण अनुपात न्यून राख्नु परेको देखिन्छ ।

संस्थागत व्यवस्था

नेपालको विद्यमान विदेशी विनिमय दर नीतिले कतिपय व्यवहारिक तथा आर्थिक समस्या उत्पन्न गरिरहेको सन्दर्भमा यस नीतिलाई पुनरावलोकन गर्नु पर्ने राय आउने गरेको छ । तर लामो समयसम्म नेपालको विनिमय दर नीतिमा पुनरावलोकन भएको छैन । नेपालले विविध संस्थागत व्यवस्था गरी विद्यमान विदेशी विनिमय दर नीतिका आधारमा समष्टिगत आर्थिक व्यवस्थापन गर्दै आएको छ ।

स्थिर विनिमय दर प्रणालीलाई रक्षा  गर्न संस्थागत व्यवस्थाहरुमध्ये विदेशी विनिमय बजारमा हस्तक्षेप केन्द्रीय बैंकको एक प्रमुख कार्य हो । स्थिर विनिमय दर प्रणाली भएको मुलुकमा विदेशी विनिमयको माग र आपूर्तिको स्थिति अनुसार विदेशी विनिमय बजारमा हस्तक्षेप गर्नु पर्ने हुन्छ । विदेशी मुद्राको आपूर्ति बढेको समयमा बजारबाट केन्द्रीय बैंकले विदेशी मुद्रा खरिद गर्ने र विदेशी मुद्राको माग बढिरहेको समयमा बजारमा विदेशी मुद्रा बिक्री गर्नु पर्ने हुन्छ ।

केन्द्रीय बैङ्कले विदेशी विनिमयको बजार माग र आपूर्तिको व्यवस्थापन गरेन अर्थात् विदेशी विनिमय बजारमा हस्तक्षेप गरेनभने स्थिर विनिमय दर प्रणाली यथावत कायम रहन सक्दैन । राष्ट्र बैंकले यो कार्यको लागि विदेशी विनिमय डिलर संघ (फेडान) संस्था निर्माण गरेको छ । फेडानसँग राष्ट्र बैंकले विदेशी विनिमयमा खुला बजार कारोबार गर्दछ ।

आवश्यक्ताअनुसार विदेशी विनिमय बजारमा पठाउने र बजारबाट खिच्ने काम गरी विदेशी विनिमय बजारमा सन्तुलन ल्याउने काम गर्दछ । राष्ट्र बैंकले विदेशी विनिमय बजारमा गर्ने हस्तक्षेपले मौद्रिक नीतिमा प्रभाव पार्दछ । उदाहरणका लागि राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट विदेशी मुद्रा खरीद गर्दा अर्थतन्त्रमा मौद्रिक तरलता बढने हुन्छ ।

यस्को विपरीत नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारमा विदेशी मुद्रा बिक्री गर्दा अर्थतन्त्रमा मौद्रिक तरलता घटने हुन्छ । राष्ट्र बैंकले विदेशी विनिमय बजारमा गर्ने हस्तक्षेपले मौद्रिक तरलता उल्लेख बढयो वा घटयो भने यस्को अर्थतन्त्रमा प्रतिकुल असर पर्ने हुन्छ । विदेशी विनिमय बजारमा गरिएको हस्तक्षेपले मौद्रिक तरलता अत्याधिक वढयो भने ब्याजदर घटने, आन्तरिक बचत निरुत्साहित हुने र मूल्यमा चाप पर्ने स्थिति आउछ ।

यस्को विपरित यस प्रकारको हस्तक्षेपले मौद्रिक तरलता अत्याधिक घटयो भने लगानीयोग्य साधन घटने, ब्याजदर वढने र अर्थतन्त्रमा पूँजी निर्माणतथा लगानी प्रभावित हुने गर्छ । यस्तो स्थिति नआवस भनेर राष्ट्र बैंकले स्वदेशी मुद्रा बजारमा खुला बजार कारोबारको नीतिगत व्यवस्था गरेको छ । सोझै खरिद तथा बिक्री\ वोलकवोल र रिपो तथा रिर्भस रिपो वोलकवोल जस्ता खुला बजार उपकरणहरु मार्फत राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दै आएको छ । नेपाल सरकारको ट्रेजरी विल्स र विकास ऋणपत्रहरुको आधारमा राष्ट्र बैंकले खुला बजार कारोबार सञ्चालन गर्दै आएको छ ।

निक्षेप संकलन बोलकबोलको माध्यमबाट पनि बजारबाट अधिक तरलता झिक्ने नीतिगत व्यवस्था गरिएको छ । केहि वर्षयता राष्ट्र बैंकले ब्याजदर करिडोरको माध्यमबाट तरलता व्यवस्थापन गर्दै आएको छ । यो विश्लेषणले विदेशी विनिमय दर नीति र मौद्रिक नीतिबीच गहिरो अन्तरसम्बन्ध रहेको देखाउँछ । यसका साथै यसले मौद्रिक नीतिलाई अलग राखेर विदेशी विनिमय दर प्रणाली तथा नीतिको एकांकी विश्लेषण निरर्थक हुने संकेत गर्दछ।

भारु सँगको स्थिर विनिमय दर प्रणालीको व्यवस्थापनका लागि अवलम्बन गरिएको अर्को नीतिगत व्यवस्था अमेरिकी डलर बिक्री गरेर भा.रु खरीद हो । भारतसँग नेपालले ठूलो परिमाणको व्यापार घाटाको स्थिति निरन्तर व्यहोरिरहेकोछ । भारतसँग नेपालको व्यापार घाटा मात्र होइन चालू खाता र शोधानान्तर स्थिति पनि घाटामा छ । यस्तो अवस्थामा भा.रु सँगको स्थिर विनिमय दर पणाली यथावत कायम राख्न सकिने हुँदैन र लामो समयसम्म विनिमय दरलाई यथावत कायम राख्ने स्थित पनि हुँदैन  तर, नेपालले भा.रु.सँगको विनिमय दर र प्रणाली यथावत कायम राखेको छ ।

नेपालले अमेरिकी डलर बिक्री गरेर भा.रु खरीद गर्ने नीति तथा संस्थागत व्यवस्था गरेकै कारण भा.रु सँगको स्थिर विनिमय दर प्रणाली यथावत कायम राख्न संभव भएको हो । नेपाली कामको लागि तेस्रो मुलुक जाने प्रवृत्तिका फलस्वरुप विप्रेषण आप्रवाह उल्लेख रहेकै कारण भारतसँगको चुलिंदो व्यापार घाटा पूर्ति गर्न अमेरिकी डलर बिक्री गरेर भा.रु खरीद गर्ने नेपालको सामथ्र्य बढेको हो ।

भारुसँगको स्थिर विनिमय दर सुरक्षित यथावत कायम राख्न भएको तेस्रो नीतिगत व्यवस्था भारतबाट आयात हुने केही औद्योगिक कच्चा पदार्थको लागि अमेरिकी डलर भुक्तानी हो । २०५० सालदेखि राष्ट्र बैंकले भारतबाट हुने वस्तुहरुको आयात डलरमा भुक्तानी हुने व्यवस्था गरेको हो । डलरमा भुक्तानी हुने यस्ता वस्तुहरुको संख्या हाल १६७ रहेको छ । अमेरिकी डलरमा भुक्तानी गर्दा यस्ता वस्तुहरुमा भारतले लगाउने अन्तःशुल्क तिर्न नपर्ने र ती वस्तुहरु सस्तो हुने तथा नेपाली अर्थतन्त्र र आम उपभोक्तालाई लाभ पुग्ने देखेर यो व्यवस्था वि.सं.२०५० देखि लागु गरिएको हो ।

स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्दा यथार्थ विनिमय दर अधिमूल्यन भई निर्यात निरुत्साहित हुने जाने हुन्छ । यस क्रममा आन्तरिक उत्पादने, रोजगारी र विदेशी मुन्द्रा आर्जनको स्रोत घट्ने हुन्छ । यही पृष्टभुमिमा प्रचलित विनिमय दर अपसंरेखित भएकै कारण निरुत्साहित निर्यात लाई प्रोत्साहित गर्ने उपायको रुपमा नेपाल सरकारले निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेको छ । यो व्यवस्था आर्थिक वर्ष ०६८/०५९ देखि गरिएको हो । नेपाल सरकारले आर्थिक वर्ष ०६८/०६९ देखि ०७६/०७७ सम्म निर्यातलाई प्रोत्साहित गर्न २ अर्ब ८४ करोड रुपैयाँ निर्यात नगद अनुदान निजी क्षेत्रलाई प्रदान गरिसकेको छ ।

नेपालको भारतसँग निरन्तर उच्च व्यापार घाटाको स्थितिका वावजुद माथि उल्लेखित विविध नीति तथा संस्थागत व्यवस्थाका कारण भारु. सँगको स्थिर विनिमय दर प्रणाली जोगिएको छ । तर यसको मतलब नेपालको उच्च व्यापार घाटा, कृर्षिको अधोगति, खाद्यान्नको बढ्ढो आयात र कमजोर निर्यातको अवस्था विनिमय दरका कारणले मात्र हो भन्ने होइन । यी सवै कमजोरीको दोष विनिमय दर र पद्घतिलाई मात्र दिनु हुँदैन । यी सबै कमजोरीका कारण अरु पनि छन् । नेपालले पूर्वाधार क्षेत्रमा अपेक्षित प्रगति गर्न सकेको छैन । उत्पादन र वस्तु वित्तरणमा नयाँ प्रविधि भित्रयाउन सकेको छैन ।

मानव संशाधनको विकास हुन सकेको छैन । शासकीय सुधारमा फड्को मार्न बाकी नै छ । संरचनागत सुधारका कार्यहरु निरन्तर अगाडि बढाउने खाचो छ । विश्व बैंकको डुइङ विजनेश सुचकाङ्कले त्यही भन्छ ।

यो पनि हेर्नुहोस 
पुँजी खाता कारोबार खुला गर्दा परिवर्तनशील विनिमय दर प्रणाली आवश्यक हुन्छ

भारुसँग स्थिर विनिमय दरका कारण नेपालले गरीवी न्यूनीकरणमा सफलता पाएको छ 

विनिमय दर नीतिबाट लाभ लिन पुँजी बजारलाई विश्वसँग जोडनु पर्छ 

आइतबार​ ३१ असोज २०७८ ०६:४६ AM मा प्रकाशित

प्रतिक्रिया