×

बिमा बजारमा अस्वस्थ प्रतिस्पर्धा छ, शिखर इन्स्योरेन्सका सीईओ पाण्डेको विचार

images

अहिले खासगरी निर्जीवन बिमा बजार स्थिर छ । तर, बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा भने हटेको छैन । अस्वस्थ प्रतिस्पर्धा भनिरहँदा कति कुरा प्रमाणित गर्न सकिने हुन्छ भने कति कुरा प्रमाणित गर्न सकिँदैन । कति कुराहरू सबैलाई थाहा हुँदाहुँदै पनि प्रमाणको अभावमा नियमनकारी निकायले नदेखेजस्तो गर्नुपरेको छ । तर, यस्तो प्रवृत्तिले एक दिन दुर्घटना निम्त्याउँछ ।

विगतमा गलत अभ्यास गर्ने कम्पनीलाई कारबाही भएकाले कम्पनीहरू आफैं सजक हुनुपर्ने हो । तर, त्यस्तो देखिएको छैन । अहिले मैले गरेको कामले भोलि मलाई नै संकट निम्त्याउँछ भनेर नबुझ्दासम्म समस्या झेल्नुपर्ने स्थिति छ ।  

निर्जीवन बिमा व्यवसायलाई विविधीकरण गर्नुपर्ने आवश्यकता छ । ताकि एक ठाउँको जोखिम अर्को ठाउँको नाफाले पूर्ति गर्न सकियोस् । त्यही भएर शिखर रिटेल व्यवसाय केन्द्रित भइरहेको छ । शिखरले हवाई, मोटर, कृषि बिमाजस्ता सबै क्षेत्रमा बिमा गरेकैले प्रत्येक क्षेत्रमा नेतृत्व (लिड) गरेर अगाडि बढेको छ । 

कृषि बिमामा गत वर्ष २० करोडको प्रिमियम संकलन गरेकोमा चालू वर्ष ४० करोड संकलनको लक्ष्य छ । ६ वर्षअघि २ लाखबाट सुरु भएको स्याउ बिमा गत वर्ष ४ करोड पुगेको छ भने चालू वर्ष ९ करोडको लक्ष्य लिइएको छ । यसले बिमा बजारमा सकारात्मक ‘भाइब्स’ ल्याएको छ, बजार बढाएको छ ।

जुम्लामा एउटै फर्ममा ३०/३५ हजार स्याउका बोट छन् । त्यो भनेको बिमाको विश्वास हो । किसानले के बुझे भने केही गरी क्षति भए पनि अहिलेको अवस्थाभन्दा तल जानुपर्दैन बरु माथि नै जान बाटो खुल्छ भनेर लगानी गरिरहेका छन् ।

किसान सोझो हुन्छ, चाहिने कागजात पनि खुरुखुरु दिन्छ । दाबी पनि कम छ, बजार सानो छ । त्यसले गर्दा दाबी भुक्तानी गर्न एकदमै सजिलो र गुनासोविहीन छ । जुम्लादेखि आउजाउ गर्दा एक÷दुई महिना लाग्नु बेग्लै कुरा हो । तर, अझ सहज बनाउन ‘डिजिटलाइजेसन’मा जाने प्रयास भइरहेको छ । 

खासगरी निर्जीवन बिमामा दाबी भुक्तानीमा समस्या भएको भनेर व्यापक गुनासो छ । तर, समयमा दाबी भुक्तानी हुन नसक्नुका धेरै कारणमध्ये बिमा गरेका व्यक्तिले समयमा कागजात उपलब्ध नगराउनु प्रमुख कारण हो । बिमा कम्पनीहरूले दाबी तिरेर नै जनमानसको विश्वास जित्न सकिन्छ भन्ने बुझ्नुपर्छ । जति विश्वास जित्छौं, त्यति नै बिमाको दायरा बढ्दै जान्छ । 

कृषि बिमाले सुरुमा कम्पनीको नाफामा अलिकति समस्या ल्याए पनि दीर्घकालमा बिमाको बजार बढाउँछ । कृषि बिमाले अप्रत्यक्ष्य रूपमा किसानको आर्थिक अवस्थामा सुधार ल्याएर माथि जाने बाटो बनाउँछ । बिमाले किसानको क्षति व्यहोर्न थालेपछि किसानहरूको कृषि कर्म र बिमाप्रति आकर्षण बढ्न थालेको छ । 

समयमा र आवश्यक डकुमेन्ट दिएमा दाबी भुक्तानीमा ढिला गर्नुपर्ने कुनै कारण छैन । नेपालमा यति धेरै हवाईजहाज दुर्घटना भए तर, कोही पनि सञ्चालक डुबेका छैनन् किनभने बिमाको भुक्तानीले उनीहरूको लागत उठ्छ । त्यसैले त व्यवसाय विस्तार भइरहेको छ । 

पहिले मोटरसाइकलको बिमा कसैले गर्दैनथे । सुरुमा शिखर सुरुवात गर्यो । जसले गर्दा एउटा काउन्टरमा १०/१५ जना कर्मचारी खटाएरसमेत मोटरसाइकलको बिमा गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । तर, अहिले सबैले गर्न थालेका छन् र पनि शिखरले लिड गरेको छ किनभने शिखरले विश्वास जितेको छ । भोलि सबैले कृषिमा पनि गर्र्लान् तर, लिड शिखरले नै गर्नेछ ।  

दाबी भुक्तानीको सबैभन्दा बढी समस्या यातायातमा छ । ३/४ वर्षदेखि डकुमेन्ड नदिएर दाबी भुक्तानी नभएका कैयौं केस शिखरमा छन् । सबै तिरेका छौं भनेर फुर्ति लगाउन पनि सकिँदैन र तिरेकै छैनन् भनेर आरोप लगाउन सकिने ठाउँ पनि छैन । बिमितले पनि कम्पनी छनोटमा ध्यान दिनुपर्यो । दाबी भुक्तानी दिएन भन्ने फेरि त्यही कम्पनीमा बिमा गर्न किन जानुभएको त ?

                                                                          पाण्डे,शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् ।

आइतबार​ ८ जेठ २०७९ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया