नेपालीमा कोरोनाको संक्रमण बढ्दो छ, रोजगार पनि गुम्दै छ,एनआरएन बहराइनका अध्यक्ष लक्ष्मी गिरीसँगको अन्तरवार्ता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख ३०, मङ्गलबार,०८:११:PM  
नेपालीमा कोरोनाको संक्रमण बढ्दो छ, रोजगार पनि गुम्दै छ,एनआरएन बहराइनका अध्यक्ष लक्ष्मी गिरीसँगको अन्तरवार्ता

कोरोना भाइरसको कारण अहिले बैदेशिक रोजगारीका लागि गएका लाखौ नेपालीहरु प्रभावित भएका छन् । हालसम्म विश्वभर ५ हजार ५ सय ८१ जनामा कोरोना देखिएको छ भने ७८ जना नेपालीले ज्यान गुमाइसकेका छन् ।संक्रमणबढेसँगै विश्वका अधिकाशं मुलुकमा गरिएको लक डाउनका कारण उद्योग व्यवसायहरु बन्द भएका छन् । जसले गर्दा लाखौले रोजगारी गुमाइरहेका छन् ।   नेपालीहरुको प्रमुख गन्तव्य मुलुकको रुपमा रहेको बहराइनमा पनि कोरोनाको संक्रमणका कारण हजारौंले रोजगारी गुमाइरहेका छन् । यसको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिएको छ । यसैबीच त्यहाँ रहेका नेपालीहरुको अवस्थाको बारेमा क्यापिटलका सुवास योञ्जनले गैर आवासीय नेपाली संघ(एनआरएनए)बहराइनका अध्यक्ष लक्ष्मी गिरीसँग गरेको कुराकानी :

कोरोना संक्रमणको असर बहराइनमा रहेका नेपालीहरुमा कस्तो परेको छ ?  

सोमबार बेलुकासम्म २ सय ५७ जना नेपालीहरुमा कोरोनाको संक्रमण देखिएको छ । यो संख्या अझै बढ्ने क्रममा छ । संक्रमितहरुको अवस्था अहिलेसम्म सामान्य रहेको छ । बहराइन सरकारले आफ्नो र विदेशी नागरिक भन्ने खालको भेदभाव नगरिकन उपचार गराइरहेको छ ।आफ्नो देशको नागरिकलाई जस्तै प्राथमिकतामा राखेर उपचार गराइरहेका छन् । कुनैपनि नेपालीहरु उपचार नपाएर समस्यामा परेका छैनन् ।  

अहिले बहराइनमा कति नेपालीहरु छन् ? ती मध्ये कति नेपाल फर्कन चाहन्छन् ?

बहराइनमा ३० देखी ३५ हजार नेपालीहरु छन् । ती मध्ये ५ हजार जति अवैधानिक रुपमा बसिरहेकाहरु हुन् । उनीहरु अहिले समस्यामा छन् । उनीहरु मध्ये अधिकाशं पूर्ण रुपमा बेरोजगार भइसकेकाहरु छन् । तत्काले घर फर्कन चाहनेहरुको संख्या १५ सय भन्दा बढी छन् । अवैधानिक बसिरहेका र अहिले बेरोजगार भएका तथा घरबिदामा नेपाल फर्कन चाहेको हामीले पाएका छौ । 

कोरोनाले कुन क्षेत्रमा रोजगारी गरिरहेका नेपालीलाई बढी प्रभावित गरेको छ ?

भाइरसको कारण यहाँ होटल, रेष्टुरेन्ट, व्यूटीपार्लर, सिनेमाहलहरु पूर्ण रुपमा बन्द छन् । ठूला उद्योगहरु भने सञ्चालन भइरहेको छ । नेपालका श्रमिकहरु मध्ये अधिकाशं यहाँ बन्द भएका क्षेत्रमा कार्यरत छन् । व्यवसाय बन्द भएपछि त्यहा कार्यरत श्रमिकहरु समस्यामा परेका छन् । यसरी कम्पनीहरुले कर्मचारी कटौटी गर्न थालेपछि बहराइनमा धेरै नेपालीहरुले रोजगारी गुमाउने देखिएको छ ।

हालसम्म कति श्रमिकले रोजगारी गुमाएका छन् ?

अहिले दूतावासले घर फर्कन चाहनेहरुका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरेको छ । फाराममा घर फर्कनु पर्ने कारण सहित उल्लेख गर्नुपर्ने छ । सोमबारसम्मको तथ्यांक अनुसार ४ सय जना नेपालीले सो फारम भरिसकेका छन् । कतिले रोजगारी गुमाए भन्ने आधिकारीक तथ्यांक भने छैन । अहिले दैनिक रुपमा नेपालीहरु दूतावासमा आफ्ना समस्याहरु लिएर आउने गरेको जनाएको छ ।

कोरोना संक्रमणपछि एनआरएनए बहराइनले नेपाली श्रमिकका लागि के गर्दै हुनुहुन्छ ?

हामी अहिले संक्रमणबाट प्रभावित भएकाहरुको स्वास्थ्य अवस्था बुझ्ने, उपचारमा   समस्या नहोस भनेर समन्वय गरिरहेका छौं । त्यति मात्र हैन, रोजगारी गुमेकाहरुलाई घर नर्फकदासम्मका लागि राहत वितरण गरिरहेका छौं । कतिपय कम्पनीले रोजगारीबाट निकालेपनि खाना र बस्नको व्यवस्था गरिरहेको छ । त्यस्ता कम्पनीहरुसँग पनि समन्वय भइरहेको छ । जुन श्रमिकले खाना पाएका छैनन्, उनीहरुलाई दूतावास र हामी मिलेर खानाको व्यवस्था गरिरहेका छौं ।

अव नेपालीहरुलाई बहराइनको रोजगारीको अवस्था कस्तो हुने देख्नुहुन्छ ?  

अहिलेसम्मको अवस्था हेर्दा कोरोनाले भयाबह अवस्था निम्त्याउने देखिएको छ । भाइरसको कारणले धेरै व्यवसायहरु बन्द भएका छन् र अरु बन्द हुने क्रममा छन् । यहाँ धेरै जसो होटल, रेष्टुरेन्ट र निर्माण क्षेत्रमा रोजगारीका लागि आउने हो । अहिले होटल र रेष्टुरेन्टहरु पूर्णरुपमा बन्द भइरहेको बेला सबै श्रमिकहरु बेरोजगार भइसकेका छन् । 

 त्यसैले अव यहाँ धेरैको रोजगारी गुम्ने खतरा छ । त्यसको प्रभाव नेपाली श्रमिकहरुलाई प्रत्यक्ष रुपमा पर्ने देखिएको छ । अहिले तत्कालका लागि १ हजार ५ सय नेपालीहरु घर फर्कन चाहेका छन्, तर यो संख्या थपिने निश्चित छ । यहाँ केहि हजार बाहेक सबै नेपालीहरु घर फर्कनु पर्ने अवस्था आउन सक्छ । त्यसैले नेपाल सरकारले यहाँ रहेका नेपालीहरुलाई तत्कालै सुरक्षीत अवस्थामा आफ्नो घर फर्कने वातावरण मिलाउन आवश्यक छ । 


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अन्तर्वार्ता बाट थप

Top