×

इन्टरनेटमाफर्त फिल्म प्रदर्शन गर्न नेपालमा तत्कालै सम्भव छैन

images

भन्न त कोभिडको कारण नेपालमा सबैभन्दा बढी पर्यटन र मनोरञ्जन क्षेत्र परेको भनिन्छ । आर्थिक हिसाबले हेर्ने हो भने पर्यटनभन्दा मनोरञ्जन क्षेत्रको क्षति कम हो । फरक के छ भने, चालचित्र क्षेत्र पूर्णरुपमा बन्द हुँदा पर्यटन क्षेत्रमा भने आन्तरिक पर्यटकले सामान्य चहलपहल गराइरहेको छ । 

अर्को समस्या के भयो भने, फिल्म हल नै बन्द भएपछि नवप्रवेसीहरू आउन पाएनन् । हल चलेको भए यो फिल्मले यति कमायो, त्यो फिल्मले यस्तो गर्यो भनेर हल्ल हुन्थ्यो, समाचार देखेर चलचित्र क्षेत्रमा लगानी गर्नेको संख्या बढ्थ्यो अथवा पुरानै लगानीकर्ताले पनि लगानी गर्ने भन्ने हुन्छ ।

तर, अहिले हल बन्द भए पनि समाचार र फिल्म क्षेत्रको आम्दानीको कुरा केही पनि छैन । यसको अर्थ हो, फिल्मको बिजनेस छैन भन्ने सन्देश गएको छ बजारमा । त्यसले गर्दा नयाँ लगानीकर्ता आकर्षित हुँदैनन् । पुराना लगानीकर्ताहरूले राम्रोसँग बुझेका छन् पैसा आउने ठाउँ छैन । 
त्यस्तै राम्रो ब्राण्ड भएको नेपाली फिल्मको लगभग ३० प्रतिशत रकम विदेशबाट आउँछ ।

अमेरिका, हङकङ, अष्ट्रेलिया बेलायतलगायत देशमा बस्ने प्रवासी नेपालीले हेरेर आउने हो, त्यो पैसा । जस्तै डेढ करोडमा फिल्म बनेको छ भने करिब ५० लाखसम्म विदेशबाट आउँछ । त्यो पनि नेपाली फिल्मका लागि धेरै ठूलो सहयोग हो ।

तर, कोरोनाको कारण अष्ट्रेलियामा सेना नै परिचालन गरेको समाचार आएको छ भने, अमेरिका, हङकङ, बेलायतमा पनि नेपाली फिल्म चल्ने अवस्था छैन । त्यसकारण स्वदेश र विदेशबाट हुने आम्दानी शून्य छ । 

बाँकी रहेको भारतमा हलिउड–बलिउडले गरेको जस्तो ओटीटी प्लेट फर्म (इन्टरनेटको माध्यम) बाट हो । नेपाली फिल्महरू नेट फिक्स, अमेजन प्राइम जस्तो ओटीटीमा जाने सम्भावना नै छैन । किनभने, त्यो स्तरको विषयवस्तु हामीले तयार गर्न सक्दैनौं, हाम्रो क्षमता छैन ।

हाम्रो लोकल एपहरू जस्तोः युट्युबमा फिल्म देखाएर आर्थिक आम्दानी हुने भनेको २०÷२५ लाख रुपैयाँ मात्रै हो । त्योभन्दा धेरै आउँदैन । त्यति पैसाले फिल्को लगानी सुरक्षित हुँदैन । त्यसैले फिल्म बनाउनेहरू निस्क्रिय छन् । डाइरेक्टर, कलाकारहरू फुर्सदमा छन्, सुटिङ छैन । सुटिङ नभएपछि प्राविधिकहरू पनि बेरोजगार छन् ।

केही प्राविधिकहरूले भने म्युजिक भिडियो र टेलिसिरियलमा काम पाएका छन् । तर, सबैले काम पाएका भने होइनन् । अरु व्यवसायहरू कुखुरापालन, पसल सञ्चालन, जग्गाको कारोबार (किनबेच गर्ने) तिर लागेका छन् । 

चलचित्र क्षेत्र चलायमान हुनका लागि हलमा मान्छे आउने वातावरण हुनुपर्यो । नयाँ–नयाँ भेरियन्ट आइरहेको छ, संक्रमणको दर बढ्दो छ । खोपले पनि प्रभावकारी काम नगरेको जस्तो देखिएको छ ।

त्यसैले नयाँ भेरियन्टलाई पनि काम गर्ने गरी खोप ल्याएर निर्धक्क हुने वातावरण बन्यो, रंगशालाहरूमा दर्शक बढे, भीड हुँदा डराउनु परेन अथवा राष्ट्रिय नाचघरमा म्युजिक कन्सटहरू हुने दिन आयो भने बल्ल फिल्महरूको दिन आउने हो । गत वर्ष पनि प्रशासनले सुरुमै बन्द गरेको फिल्म हल हो र लकडाउन सकिएपछि फेरि सबैभन्दा पछि खोलेको पनि फिल्म हल नै हो ।

त्यसमा पनि पूर्णसिट क्षमतामा मान्छे राख्न दिइएको थिएन र निर्मलीकरण गरेर मात्रै फिल्म प्रदर्शन गर्ने नियम बनाएर हल खोलिएको हो । तर, त्यो बेलामा पनि सबै हल खुलेन । केही हल खुलेका थिए र धेरै लगानीका फिल्म पनि आएनन्, थोरै बजेटका मात्रै फिल्म आए । तर, दर्शक भने धेरै आएन्् । अब प्रशासनले नै मास्क लगाएर निर्धक्कसँग हिँड्दा हुन्छ भने नभनेसम्म हल खुल्दैनन् । 

फिल्म हल नखुलेसम्म हामीले फिल्म बनाएर काम छैन । पैसा आउने स्रोत भनेको नै हल हो । केही टिमले अहिले सुटिङमा जाँदै गर्ने हल जहिले खुल्छ त्यो बेला प्रदर्शन गर्ने भनेर तयारी गरेका छन् । त्यसका लागि सरकारले फिल्म क्षेत्रका मानिसका लागि लगभग ५÷६ हजार डोज खोप व्यवस्था गरिदियो भने सुटिङमा जाने निर्धक्क हुन्छन् । 

बलिउडमा त्यहाँको प्रोड्युसन हाउसहरूले आफैंले किनेर खोप लगाएको हो । किनभने त्यहाँको अस्पतालमा ७÷८ सय आईसी तिर्यो भने खोप लाउन पाइन्छ, यहाँको जस्तो लाइन बस्नु पर्दैन । उनीहरूको सुटिङ गरेर देखाउने ठाउँ पनि छ । हाम्रोमा त्यो छैन । 

लामा फिल्म निर्देशक  हुन् ।

 

शनिबार १२ भदौ २०७८ १०:१० AM मा प्रकाशित

प्रतिक्रिया